तमु समाज इजरायलले ‘तमू सप्रि-ल्हो ल्होसार स्योकैं तथा सांस्कृतिक कार्यक्रम २०८१’ आयोजना गर्दै !

इजरायल बिसेष

काठमाडौं – तमु नयाँ बर्ष सप्रि-ल्हो (सर्प वर्ग) को उपलक्ष्यमा इजरायलमा तमु समाज इजरायलले एक बिशेष सांस्कृतिक कार्यक्रम गर्ने भएको छ ।

आउदो २०२५ जनवरि ३ तारिख इजरायलको इभ पाटि प्यालेस (यादखरुचिम १५) मा उक्त
मुप्रि-ल्हो (गिद्ध वर्ग) लाई बिदाई गर्दै सप्रि-ल्हो (सर्प वर्ग ) लाई स्वागत सहित ‘तमू सप्रि-ल्हो ल्होसार स्योकैं तथा सांस्कृतिक कार्यक्रम २०८१’ आयोजना गरिएको हो ।

सन् २००६ मा स्थापित तमु समाज इजरायलले तमु पहिचान झल्किने बिभिन्न कार्यक्रम साथै सामाजिक काम समेत गर्दै आएको छ ।

के हो तमु ल्होसार?

गुरुङ समुदायको नयाँ वर्ष हो, तमु ल्होसार। ‘ल्हो’ले वर्ग अथवा वर्ष र ‘सार÷छार’ले नयाँ भन्ने बुझाउँछ।

हरेक वर्षको पुस १५ मा गुरुङको वर्ग÷वर्ष फेरिन्छ। पुस १५ लाई उनीहरूले नयाँ वर्ष र जातीय पर्वका रूपमा मनाउँछन्। ‘ल्हो’ अर्थात् वर्ग १२ वटा हुन्छन्। ती सबै विभिन्न पशुपक्षीका नाममा राखिएको हुन्छ। हरेक १२ वर्षपछि फेरि सुरुकै वर्ग आउँछ। गुरुङको हरेक शुभ÷अशुभ कार्य गर्दा वर्ग हेरेर गर्ने गरिन्छ।

नेपालमा गुरुङसँगै तामाङ, शेर्पा लगायत अन्य हिमाली समुदायले पनि ल्होसार पर्व मनाउँछन्।

फरक–फरक समुदायले मनाउने ल्होसारको नाम पनि फरक–फरक छन्। गुरुङले मनाउने ल्होसारलाई तोला ल्होसार भनिन्छ। तर, अहिले गुरुङले तोला ल्होसार नभनी तमु ल्होसार भन्ने गरेका छन्। यो नामाकरणबाट उनीहरूले यस पर्वलाई गुरुङको पहिचानसँग जोड्न खोजेको देखिन्छ। तामाङहरूले मनाउने ल्होसारलाई सोनाम ल्होसार भनिन्छ भने शेर्पा लगायत हिमाली समुदायले मनाउने ल्होसारलाई ग्याल्बो ल्होसार भनिन्छ।

ल्माहोसारमा विशेष कर्मकाण्ड केही हुँदैन। बिहान सबेरै उठेर नुहाइधुवाइ गरी चोखो भएर कुलदेवता (पितृपूजा) गरिन्छ। मिष्ठान्न भोजन बनाएर पितृलाई चढाइन्छ। घर सरसफाइदेखि ध्वजा (लोंदर) फेर्ने काम हुन्छ। यी कुराले पनि गुरुङको नयाँ वर्ष आएको रहेछ भन्ने देखाउँछ। दिउँसो भने आफूलाई मनपर्ने परिकार बनाएर परिवारका सदस्य, इष्टमित्र, साथीभाइ चेलीबेटीसँगै बसेर खाने गरिन्छ। खानामा विशेषतः गुरुङहरूको सेलरोटी नै हो। यसबाहेक अहिले चिसो मौसम भएकाले मौसमअनुकूल न्यानो हुने झोलिलो पदार्थ, कन्दमूल–तरुल, पिँडालु, सखरखण्ड, मासुका परिकार लगायत पौष्टिक आहार खाने चलन छ।

तमु ल्होसारको विशेष सांस्कृतिक महत्व छ। यसले गुरुङको इतिहास, पहिचान, संस्कृति बोकेको छ। त्यसकारण यस पर्वलाई उनीहरूको पहिचानको मूल कडीका रूपमा लिइएको छ। सबैका पर्व–संस्कृतिले आ–आफ्नो संस्कृति भल्काएजस्तै, यस पर्वमा गुरुङको आफ्नो सांस्कृतिक भेषवूशा, खानपान, गीत–संगीत, सीप–कला प्रस्तुत हुन्छ। यससँगै आफ्ना चेलीबेटी, छरछिमेक, दाजुभाइ जम्मा हुने, आफ्नो नाता–सम्बन्ध सबैलाई एक ठाउँमा राखेर पारिवारिक तथा सामाजिक सम्बन्ध बलियो पार्ने, सामाजिक र सांस्कृतिक परम्पराको संरक्षण गर्ने गरिन्छ। यसले माइती र चेलीबीचको सम्बन्धलाई मजबुद बनाउँछ। गुरुङ समुदायमा चेलीबेटीलाई विशेष मान–सम्मान गरिन्छ। यस अवसरमा चेलीबेटीलाई र उनीहरूका परिवारलाई बोलाएर खानपिन गरिन्छ भने चेलीबेटीले पनि माइतीलाई उस्तै मान–सम्मान र खानपिन गराउँछन्। गुरुङको विशेषता नै दोहोरो खालको सामाजिक–सांस्कृतिक सम्बन्ध अर्थात् आपसी सहयोग आदान–प्रदान हो। यस हिसाबले यो पर्वको सांस्कृतिक पक्ष धेरै बलियो देखिन्छ।

 

Facebook Comments:

Leave a Reply

Your email address will not be published. Required fields are marked *

× four = 16