मोहनी नख: तथा बडा दशैको उपलक्ष्यमा इजरायलमा “नेवा: फुड फेस्टिवल” कार्यक्रमको आयोजना ।

इजरायल बिसेष

तीनजुरे अनलाइन डट नेट ।

राष्ट्रिय नेवा: खल: इजरायलले मोहनी नख: तथा बडा दशैको उपलक्ष्यमा “नेवा: फुड फेस्टिवल” कार्यक्रम भव्यताका साथ मनाउने भएको छ आउदो अक्टुबर १५ तारिक साझ इजरायलको यार्कोंन पार्क तेलअबिबमा स्वादिष्ट नेवा: खानाका परिकारहरु:- छोइला, कचिला, सम्यबजी , BBQ को साथमा भब्य रुप ले कार्यक्रम मनाउन लागिएको हो ।

विभिन्न स्वादिष्ट खानाको साथमा ठुला बडाबाट टीका लगाउने आशिर्वाद लिने साथै जमरा र ध्वजा लगाउने कार्यक्रम कार्यक्रम रहेको आयोजक द्वारा सुचनामा जानकारी गराईएको छ उक्त कार्यक्रममा उपस्थित भई कार्यक्रमको शोभा बढाई साथ र सहयोग गरी दिनु हुनको लागी ईजरायलमा रहनु भएका सम्पुर्ण दाजुभाई तथा दिदीबहिनीहरुलाई हार्दिक आयोजक संस्थाले अनुरोध समेत गरेको छ ।  राष्ट्रिय नेवा: खल: इजरायल नेवा भाषा कला संस्कृतिको जगेर्नागर्नको निम्ति इ स २०१० मा इजरायलमा स्थापाना भएको हो ।

~बसन्त महर्जन~

नेवार समाजमा राम्रोसँग चथाः (गणेश चौथी) मनाउन सके मोहनी अर्थात् दशैं पनि राम्रै हुन्छ भन्ने मान्यता छ।

असल टोलका नेवारहरु सबभन्दा कान्छो सदस्यको अगुवाइमा दशैं मनाउँछन्। यस्तै एक परिवारका सबभन्दा कान्छा बालक कुभिन्डाको बलि दिंदैछन्।मोहनी र दशैं एउटै नभए पनि वा दशैं भनेकै मोहनी भए पनि नेवार समुदायले ठूलो महत्वका साथ मनाउने चाड र विधि एउटै हो। नेवार समाजमा आश्विन पारु (घटस्थापना) कै दिनबाट मोहनी शुरू हुन्छ। मोहनीको पहिलो दिन आगम घरमा ‘नःला स्वनेगु’ (जमरा) राखिन्छ। कारणवश आगमबाट निस्केका वा निष्कासित भएकाहरू आ–आफ्नै घरमा ‘नःला स्वनेगु’ राख्छन्।

 

नेवार समाजमा सप्तमीका दिन फूलपाती भित्र्याउने विशेष विधि पनि छैन। काठमाडौं उपत्यकामा पृथ्वीनारायण शाहको राज्यसत्ता स्थापनापछि गोरखा र धादिङको सीमा धुनबेसीबाट फूलपाती भित्र्याउने परम्परा बसे पनि नेवारको घर–घरमा भने पुगेन। कीर्तिपुरको क्वाःच्व (उमामहेश्वर मन्दिर) बाट पश्चिमतिरको प्रधान खलकको आगम घरमा भने घटस्थापनाकै दिन गोरखाबाट एकजना मगर आएर बस्ने चलन छ। उनी फूलपाती भित्र्याउने, पूजा गर्ने लगायतका विधिमा सरिक हुन्छन्। सो आगम घरका प्रधानहरूले गर्ने मोहनी वा दशैंका अन्य गतिविधिमा गोरखाको थप संस्कृतिसँग कुनै सम्बन्ध राख्दैन।

नेवारहरू अष्टमीका दिन कुलका सबै एकठाउँ बसेर ‘कूछि भ्वय्’ (भोज) गर्छन्। ‘कुलछि’ को अपभ्रंश ‘कूछि’ को अर्थ ‘कुलभित्रको मात्र’ हो। तर, हिजोआज एक कुलिंचा (कुरुवा) चिउरा खाने भोज भनेर पनि अर्थ्याइने गरेको छ, जुन गलत हो। कुलभित्रको विशेष सहभोज भएकाले ‘कूछि भ्वय्’ मा चिउरा हातले नहाली कुरुवाले राख्ने गरिन्छ। एकजनालाई एक कुरुवा धेरै हुने भएकोले कुरुवाभित्र कपडा वा कागज कोचेर चिउरा भरिन्छ।

चारकुनामा बुट्टेदार बनाएर काटिएको फर्सीको टुक्रालगायत विभिन्न खानेकुरा राखिने ‘खयपि चयपि’ सहितको ‘कूछि भ्वय्’ ले वस्तुतः तान्त्रिक पद्धति अनुसार हो भन्ने जनाउ दिन्छ। केराको पातमा खाइने यो भोजमा चिउरा वरिपरि ‘खयपि चयपि’ राखेर खानुअघि द्यःछायेगु चढाइन्छ। त्यसपछि फेरि विभिन्न गेडागुडी र तरकारीलगायतका परिकार राखेर ‘कूछिभ्वय्’ खान थालिन्छ। नेवारहरू ‘कूछिभ्वय्’ छुट्नु दशैं नै छुट्नुसरह मानेर यसलाई विशेष महत्व दिन्छन्।

‘स्याक्वत्याक्व’ अर्थात् नवमीका दिन नेवारहरू आगम घर वा जमरा राखिएको घरमा जम्मा हुन्छन्। अरू समुदायले दुर्गाको आराधना गर्ने यो दिन नेवारहरू तान्त्रिक विधि अनुसार साधना गर्छन्। हिजोआज कतिपयले दुर्गाको मूर्ति वा तस्वीर पनि राख्न थालेका छन्। कोठामा भएका अन्य देवदेवीको पनि यही बेला पूजा गरिन्छ। नेवारहरू यस दिन परिवारका सदस्यहरूले व्यवसायमा प्रयोग गर्ने ज्यावलहरूको पनि पूजा गर्छन्। यस दिन जाँडरक्सी राखिएका भाँडाहरूको पनि ‘थापिंचा’ (पूजा) गर्नुका साथै विधिपूर्वक ‘मोहनी सिन्हः’ थाप्ने भनेर ध्वाँसो संकलन गरिन्छ। ‘थापिंचा’ र ‘मोहनी सिन्हः’ नेवार दशैंको महत्वपूर्ण विधि हो।

 

बलिको रूपमा हिंसाकर्म नगर्ने घरमा अन्डा चलाइन्छ। अन्डा पनि नचल्ने घरमा उखु वा नरिवल काट्ने चलन छ। त्यसरी बलि वा सांकेतिक बलि दिएपछि ‘समेबजि’ (प्रसाद) लिइन्छ। बलि चढाएको पन्छीको टाउको, पखेटा र खुट्टा दाजुभाइका सन्तानमा ज्येष्ठताक्रम अनुसार ‘फुकी’ बाँडिन्छ। बोका हो भने टाउको भाग लगाएर ‘सी’ बाँड्छन्। सी वितरणलाई ‘सीकाःभू’ पनि भनिन्छ। अलगअलग घरमा काटिएको भए पनि सीकाःभू एकै ठाउँमा गरिन्छ।

नेवार समाजमा विजयादशमीलाई ‘चालं’ वा ‘चालं क्वकायेगु’ भनिन्छ। अघिल्लो दिन पूजा गरिएका विभिन्न औजार तथा मूर्तिहरूलाई पूजा कोठाबाट पूजा गर्दै झिक्नु नै चालं क्वकायेगु हो। यसक्रममा निधारमा ‘मोहनी सिन्हः’ लगाइन्छ। चालं क्वकायेगुको दिन नेवारहरूको निधारमा अबिरले मुछेको अक्षतामाथि कालो ध्वाँसोको टीका पनि हुन्छ। कालो टीकाका साथ गलामा रातो र सेतो कपडाको धरोलाई ‘क्वखा’ भनिन्छ। असन टोलका तुलाधरहरू भने अरू नेवारले ‘चालं क्वकायेगु’ मा गर्ने विधिविधान एकादशीका दिन सम्पन्न गर्दछन्। त्यसलाई ‘असं चालं’ भन्ने गरेको पाइन्छ।

यो शक्ति साधना गर्ने पर्व भएका कारण खड्गसिद्धि प्राप्त गर्नु नै यसको मुख्य लक्ष्य हो। प्राप्त सिद्धि संचार गराउन हातमा खड्ग बोकेर आगम घरबाट बाहिर निस्की आफ्नो निश्चित इलाकाको परिक्रमा (पायाः) गरेर फर्केका दृश्यहरू त्यस दिन काठमाडौंका विभिन्न ठाउँहरूमा देखिन्छ। कारणवश घरमा दशैं मनाउन नपाएकाहरूले पनि पायाः हेर्दा सिद्धि प्राप्त गर्छन् भन्ने मान्यता छ।

 

नेवार समाजमा दशैंको टीका लाउन आफन्त वा चिने–जानेकाको घरमा जाने चलन छैन। बरु, नखःत्या जाने भनेर भोज खान जान्छन्। यसका लागि निमन्त्रणा भने आएकै हुनुपर्छ। नखःत्या चतुर्दशीका दिनसम्म चल्छ। त्यही दिन जमरा, उखुको बोट, फूल आदि दशैंमा चलाइएका चिजबिजहरूलाई पूजा कोठाबाट निकालेर पिखालखु (घरको मूल दैलो) मा राख्ने चलन छ। दशैंमा बलि दिएको पशुको एक टुक्रा मासु सुकाएर तिहारसम्म राखिन्छ। त्यो मासुको टुक्रा समेत राखेर गरिने लक्ष्मी पूजापछि नेवार समाजमा मोहनी विधिवत् सम्पन्न हुन्छ।

Facebook Comments:

Leave a Reply

Your email address will not be published. Required fields are marked *

thirty nine − = 34