बारको बैठकमा छिरेका ऋषि धमलालाई जब बाहिर निकालियो (भिडियोसहित)

समाचार

काठमाडौं :

चर्चित पत्रकार ऋषि धमला मंगलबार दिउसो हस्याङफस्याङ गर्दै सर्वोच्च अदालतको एउटा वैठक हलभित्र पसे । त्यहाँ भइरहेको थियो, नेपाल बार एसोसिएसनको वैठक ।

प्रधानन्यायाधीस चोलेन्द्र शम्शेरको राजीनामा मागका विषयमा सल्लाहकारहरुसँग बारका पदाधिकारीहरु गोप्य छलफल गरिरहेका थिए । क्यामरासहित धमला स्वाँस्वाँ फ्वाँफ्वाँ गर्दै हलभित्र पसेर लाइभ गर्न थालिहाले । छलफलमा व्यस्त अधिवक्ताहरुमाझ एकछिन सन्नाटा छायो ।

धमला भन्न थाले, ‘यहाँ बारको वैठक चलिरहेको छ, र हामी प्रत्यक्ष प्रशारणमा छौं । किनभने देशको ध्यान अहिले बारतिर छ ।’ कार्यक्रमका सहभागीहरु ट्वाँ परेर उनलाई हेरिरहेका थिए । धमला मञ्चमा बसेका बयोवृद्ध वरिष्ठ अधिवक्ता कृष्णप्रसाद भण्डारीतर्फ लम्किए ।

‘देशका भिष्मपितामह’ भन्दै माइक तेस्र्याएर उनले भण्डारीलाई प्रश्न गरे, ‘वरिष्ठ अधिवक्ताज्यू तपाईंलाई के लाग्छ ?’ भण्डारी जवाफ दिन थाले, ‘हामीले कम्मर कस्नुपर्छ…’

तर भण्डारीले बोल्दाबोल्दै बारका अध्यक्ष चण्डेश्वर श्रेष्ठले हस्तक्षेप गरे । उनले धमलाको माइक नै समातेर उनलाई त्यहाँबाट निस्कन आदेश दिए । धमलाले कुनै प्रतिवाद गर्न सकेनन् । उनी ‘हामी प्रत्यक्ष प्रशारणमा छौं’ भन्दै बाहिर निस्किए । ढोका बाहेर पनि उनले एकाध अधिवक्तालाई तानेर ‘बाइट’ लिन खोजे । तर, त्यसमा पनि सफल भएनन् ।

यसैबीच, बार एसोसिएनसनका सल्लाहकारहरूको बैठकले प्रधानन्यायाधीश जबराले अविलम्ब राजीनामा दिनुपर्ने निष्कर्ष निकालेको छ । वरिष्ठ अधिवक्ता शम्भु थापाले प्रधानन्यायाधीश जबरा सर्वोच्चबाट नहटेसम्म बार (कानून व्यवसायी)ले इजलासमा बहस गर्न नहुने बताएका छन् ।

थापाले जबराले राजीनामा नदिएसम्म कानून व्यवसायीले बहस गर्न नहुने सुझाव दिएका हुन् ।न्याय क्षेत्रमा गम्भीर विचलन देखिएको र यस्तो अवस्थामा बारले हेरेर मात्रै बस्न नहुने थापाको भनाइ छ ।

बारका पूर्वमहासचिव वरिष्ठ अधिवक्ता रमन श्रेष्ठले प्रधानन्यायाधीशले राजीनामा दिनुपर्छ भन्ने नै सबैको निष्कर्ष रहेको बताएका छन् ।

पूर्वउपाध्यक्ष अधिवक्ता टीकाराम भट्टराईले बैठकमा सहभागी ९९ प्रतिशत सल्लाहकारले वर्तमान प्रधानन्यायाधीशले न्यायीक नेतृत्व दिन असफल भएको निष्कर्ष निकालेको जानकारी दिएका छन् ।

सल्लाहकार समितिको बैठकमा वरिष्ठ अधिवक्ताहरू हरिहर दाहाल, बद्रीबहादुर कार्की, कृष्ण सापकोटा, सतिश खरेल, तुलसी भट्ट, मुक्ति प्रधान, विजयकान्त मैनाली, रमन श्रेष्ठ, कृष्ण भण्डारी, शम्भु थापा, अधिवक्ता टीकाराम भट्टराई लगायतले बैठकमा प्रधानन्यायाधीशले अहिलेको समस्या समाधानका लागि राजीनामा दिनुपर्ने धारणा राखेका छन् ।

यसैबीच, प्रधानन्यायाधीश जबराले राजीनामा नदिने जनाएका छन् । उनले आफूविरुद्ध महाअभियोग लागेपनि सामना गर्ने बताएका छन् ।

हेर्नुस् भिडियो

Facebook Comments:

Leave a Reply

Your email address will not be published. Required fields are marked *

75 − = seventy four