ताप्लेजुङका अधिकांश ग्रामीण सडकमा पुल नहुँदा जोखिमपूर्ण यात्रा गर्दै स्थानीय

समाचार

कात्तिक १०  गते । ताप्लेजुङका ग्रामीण सडकहरुमा पुल नहुँदा जोखिमपूर्ण यात्रा गर्न स्थानीय बाध्य छन् । पछिल्लो समय ग्रामीण क्षेत्रसम्म यातायात सुविधा पुगेपनि स्थानीय खोलाहरुमा मोटरेवल पुल नभएका कारण यात्रुहरु जोखिमपूर्ण यात्रा गर्न बाध्य बनेका हुन् ।

गाउँ–गाउँसम्म सडकको पहुँच बिस्तारसँगै यातायात सेवा सञ्चालनमा आएपछि स्थानीयलाई लामो तथा छोटो दूरीको यात्रा गर्नलाई भने सहज भएको छ । हाल गाउँबस्तीदेखि सदरमुकामसम्म स्थानीयले गाउँघरदेखि नै यातायात सुविधा उपभोग गर्न पाएका छन् । यस्तै सदरमुकामदेखि पाँचथर, इलाम, झापा हुँदै प्रदेश राजधानी विराटनगर तथा संघीय राजधानी काठमाडौं लगायत अन्य क्षेत्रको लामो यात्रामा निस्कनु पर्दासमेत स्थानीयले गाउँदेखि नै सवारी साधन (गाडी) चढ्न पाएका छन् ।

अहिले ग्रामीण क्षेत्रसम्म सडकको पहुँच विस्तार भएपछि यातायात सुविधा उपभोग गर्न पाएका स्थानीयका लागि सुविधासँगै जोखिम पनि बढेको छ । अधिकांस ग्रामीण सडक मापदण्डअनुसार नबेका कारण साथै स्थानीय खोलाहरुमा पुल नहुँदा यात्रा जोखिमपूर्ण रहेको छ । निश्चित समयभित्र काम भ्याउनुपर्ने र यातायात सुविधालाई पनि उपभोग गर्नुपर्ने हुँदा यात्रुले ज्यान जोखिममा राखेर यात्रा गर्ने गरेका छन् ।

जिल्लाको फक्ताङ्लुङ गाउँपालिका–२ खेजेनिमका अमर अन्छङ्बोले स्थानीय खोलाहरुमा मोटरेवल पुल नहुँदा जोखिम मोलेरै यात्रा गर्न बाध्य हुनुपरेको बताउनुभयो । पहाडी क्षेत्रमा बग्ने खोला ठाडो हुने र सामान्य वर्षा हुँदा पनि चाँडै पानीको सतह बढ्ने साथै बाढी आउने भएकाले त्यस्ता खोलामा पुल नहुँदा सबैभन्दा बढी यात्रा जोखिम हुने अन्छङ्बोको भनाइ छ । गाउँदेखि सदरमुकामतर्फ आउजाउ गर्नुपर्दा फक्ताङ्लुङ गाउँपालिका र फुङ्लिङ नगरपालिकाको सिमानामा बग्ने फुरुम्बुको सिस्नेखोलामा पुल नहुँदा स्थानीय जोखिमपूर्ण यात्रा गर्न बाध्य रहेका उहाँले बताउनुभयो ।

यस्तै फक्ताङ्लुङ गाउँपालिका–६ लेलेपका स्थानीय दिलकुमार लिम्बूले पनि दुर्गम गाउँसम्म सडकको पहुँच पुगेपछि यातायात सुविधा भएको तर, स्थानीय खोलामा पुल नहुँदा यात्रा भने जोखिम रहेको बताउनुभयो । लिम्बूका अनुसार निर्माणाधीन ओलाङ्चुङगोला उत्तर दक्षिण लोकमार्गका कारण लेलेप, तापेथोकजस्ता दर्गम क्षेत्रका स्थानीयले हाल यातायात सुविधा उपभोग गर्न पाएका छन् । सुविधा उपभोग गर्न पाए पनि फक्ताङ्लुङ गाउँपालिका–५ तापेथोकस्थित सिसँवा खोला र फक्ताङ्लुङ गाउँपालिका–३ कै लिङ्खिमस्थित थिवा खोलामा गाडी तर्ने पुल नहुँदा जोखिमपूर्ण यात्रा गर्नुपर्ने अवस्था रहेको उहाँले बताउनुभयो ।

जिल्लाको पूर्वी सिदिङ्वा र सिरिजङ्घा गाउँपालिकाका गाउँहरुमा पनि क्रमशः सडकको पहुँचसँगै यातायात सुविधा पुग्न थालेको छ । सडक बनेपनि स्थानीय खोलाहरुमा मोटरेवल पुल नहुँदा जोखिम मोलेरै यात्रुले यात्रा गर्ने गरेका छन् । सिदिङ्वा र सिरिजङ्घा गाउँपालिकाको सिमानामा रहेको तावा खोला तथा सिदिङ्वा गाउँपालिका–५ लिम्बुदिन र वडा नं. ६ मेहेलेको सिमानामा बग्ने सुन्तले खोलामा पुल नहुँदा यात्रा जोखिम रहने स्थानीयको भनाइ छ ।

यसरी जिल्लाका अधिकांस स्थानीय तहका ग्रामीण क्षेत्रसम्म सडक बिस्तारको क्रमसँगै स्थानीय बासिन्दाले यातायात सुविधा गाउँबाटै पाउन थालेका छन् । यातायात सुविधा प्राप्त गरे पनि ठाउँ–ठाउँमा रहेका खोलाहरुमा पुल नहुँदा स्थानीयले जोखिमपूर्ण यात्रा गर्दै आएका छन् । स्थानीय खोलाहरुमा पुल नभएकै कारण बर्खा मौसममा भने यातायात सेवा बन्द हुने गरेको छ । हिउँद मौसमभर यातायात चल्ने गर्दछ । यद्यपि, हिउँद अर्थात बेमौसममा पनि वर्षा भई दिएमा खोलामा पानी बढ्ने र बाढी आउने हुँदा त्यसबेला यातायात सेवा अवरुद्ध हुने गरेको छ । Gorkhapatraonline

Facebook Comments:

Leave a Reply

Your email address will not be published. Required fields are marked *

+ 63 = sixty five