सात हजार नेपाली श्रमिकलाई पिएनसिसीद्वारा सहजीकरण ।

समाचार
माघ-६, काठमाडौं- वैदेशिक रोजगारीको सिलसिलामा मलेसिया तथा विभिन्न खाडी मुलुकमा कार्यरत नेपाली श्रमिकहरुलाई कोरोनाको मुख्य प्रभाव रहेको विगत ५ महिनामा करिब ७ हजार नेपालीहरुलाई प्रवासी नेपाली समन्वय समिति (पिएनसिसी)ले विभिन्न सहजीकरण तथा समस्या समाधानका लागि समन्वय गरेको छ ।
मलेसिया लगायत कतार, साउदी अरब जस्ता देशहरूमा कार्यरत नेपालीहरुलाई सहजीकरण गर्न भनी उक्त देशहरुमा खटिएका ३२ जना स्वयंसेवकहरुलाई माघ २ गते सम्मान तथा विदाई कार्यक्रम गर्दै पिएनसिसीका अध्यक्ष कुलप्रसाद कार्कीले ६ हजार ८ सय २७ जना नेपाली श्रमिकहरुलाई घर फिर्ती, नि:शुल्क हवाई टिकट, अस्थायी सेल्टर तथा खाद्यान्न सहयोग, कानुनी सहयोग, उपचार सहयोग जस्ता विभिन्न शिर्षकमा सहयोग  उपलब्ध गराएको बताउनुभएको छ ।
 गत २०२० अगस्टदेखि डिसेम्बरसम्मको ५ महिनाको अवधिमा चार गन्तव्य मुलुकमा कार्यरत ८/८ जनाका दरले ३२ जना स्वयंसेवकले नेपाल सरकार, परराष्ट्र मन्त्रालय, नेपाली दूतावास, एनआरएन र अन्य नेपाली संघसंस्थाहरुको सहकार्यमा कोरोनाबाट प्रभावित नेपाली श्रमिकहरुलाई फारम भर्नेदेखि, जेलबाट निकाली स्वदेश फर्काउने, हवाई टिकट उपलब्ध गराउने, तलब सुबिधा उपलब्ध गराउन समन्वय गर्ने कामहरु आफ्नो समुहले गरेको पिएनसिसीका प्रोजेक्ट संयोजक एकता ज्ञवालीले जानकारी दिनुभएको छ ।
परियोजना संयोजक ज्ञवालीका अनुसार यो अवधिमा मलेसियामा २ हजार ३ सय २२,  साउदी अरबमा १ हजार ८ सय ४१, कतारमा १ हजार ४ सय ४० र अन्य एक खाडी देशबाट १ हजार २ सय २४/जनालाई प्रत्यक्ष सहजीकरण गरिएको छ ।
यसमा ६ हजार ३ सय ४६ जना पुरुष कामदार रहेका छन् भने ४ सय ८३ जना महिला कामदार लाभान्वित भएका छन् ।
कोरोनाको मध्य प्रभाव परेका अगस्ट महिनादेखि संचालित यो परियोजनाको मुख्य काम स्वदेश फिर्तीका लागि ४ देशहरूबाट १ हजार ७ सय ४९ जनालाई नेपाल फर्कन गन्तव्य मुलुकमा रहेका स्वयंसेवकहरुले समन्वय तथा सहजीकरण गरेको परियोजना संयोजक ज्ञवालीले बताउनुभएको छ ।
कार्यक्रम संयोजकले बिदाई तथा सम्मान कार्यक्रममा प्रस्तुत गरेको रिपोर्ट अनुसार पिएनसिसीका स्वयंसेवकहरुले चार देशमा प्रभावित नेपालीहरु मध्ये
२ सय ९६ जनालाई सम्बन्धित मुलुकहरुमा नयाँ काम दिलाउन नि:शुल्क सहजीकरण गरेका छन् भने २ सय २७ जनाको रोकिएको तलब सम्बन्धित कम्पनीबाट उपलब्ध गराउन समन्वय गरिएको छ । २७ जनाले ओभरटाइम काम गरेको रकम सम्बन्धित कम्पनीबाट नपाएइरहेको अवस्थामा पिएसिसीका स्वयंसेवकहरु आवश्यक समन्वय र सहजीकरण  गरेर उक्त रकम उपलब्ध गराउन सफल भएका छन् ।
 २० जनालाई नि:शुल्क हवाई टिकट
कोरोना भाइरसको कारण विदेशमा अलपत्र २० जना नेपालीहरुलाई पिएनसिसीले नि:शुल्क हवाई टिकट उपलब्ध गराएको छ । मलेसिया, साउदी अरब, कतारमा अति नै समस्यामा परेका कामविहीन नेपाली श्रमिकहरु, कम्पनीबाट भागेका, कम्पनी बन्द भएका र अनडकुमेन्टेड कामदारहरुलाई नि:शुल्क हवाई टिकट उपलब्ध गराएको पिएनसिसीका अध्यक्ष कुलप्रसाद कार्कीले बताउनुभएको छ ।
यसैगरी ती मुलुकहरुमा समस्यामा परेका १ सय ३७ जना नेपाली श्रमिकहरुको सहजीकरणका लागि गैर आवासीय नेपाली संघलाई सिफारिस गरिएको कार्कीले जानकारी दिनुभएको छ । यो अवधिमा सम्बन्धित मुलुकहरुमा कार्यरत ३२ जना स्वयंसेवकहरुले २८ जना नेपालीहरुलाई सस्तोमा हवाई टिकट उपलब्ध गराउन सहजीकरण गरेका छन् ।
यसैगरी नेपाल फर्कन आवश्यक एक्जिट भिसा १ सय ५६ जनालाई प्रदान गरिएको छ भने १८ जना नेपाली श्रमिकलाई नि:शुल्क पिसिआर परीक्षणका लागि  पिएनसिसीले सहजीकरण गरिदिएको छ ।
शव व्यवस्थापन र बिरामीको रेखदेखमा सहयोग
कोरोना प्रभावको शुरुवाती दिनहरुबाट विभिन्न कारणले परदेशमै निधन भएका ३३ जना नेपाली श्रमिकहरुको मृत शरीर नेपाल फर्काउन पिएनसिसीका स्वयंसेवकहरुले सहजीकरण गरेका छन् । मृतकको बारेमा जानकारी लिने, दूतावास तथा परिवारलाई खबर गर्ने, कागजात संकलन गर्ने काममा पिएनसिसीका चार देशमा खटिएका स्वयंसेवकहरुले सहयोग गरेको र त्यसमा ६ जनाको सदगत सम्बन्धित मुलुकमै गर्न पनि सहजीकरण गरेको बताइएको छ ।
कोरोना लगायत अन्य रोगहरु र दुर्घटनामा परी अस्पतालमा उपचाररत ३९ जना नेपालीहरुलाई अस्पतालमै पुगेर पिएनसिसीका स्वयंसेवकहरुले  रेखदेख र आवश्यक समन्वय गरेको रिपोर्टमा उल्लेख छ ।
खाद्यान्न तथा आवास सहयोग
कोरोना भाइरसको फैलावटले अस्तव्यस्त बनेका प्रवासी नेपालीहरुलाई मनोपरामर्श काउन्सिलिङ सहयोगका साथै खाद्यान्न र अस्थायी आवास सहयोग उपलब्ध गराइएको पिएनसिसीले जनाएको छ । यसमा सम्बन्धित मुलुकमा रहेका दूतावासहरु, एनआरएनए र अन्य नेपाली संघसंस्थाहरुले पनि सहकार्य गरेको रिपोर्टमा उल्लेख छ । पछिल्लो ५ महिनाको अवधिमा २ सय ८३ जनालाई खाद्यान्न सहयोग वितरणमा पिएनसिसीले सहजीकरण गरेको थियो भने मलेसिया लगायतका देशहरुमा अस्थायी सेल्टर चलाएर कम्पनीबाट जबरजस्ती निकालिएका नेपालीहरुलाई आवास सुविधा पनि उपलब्ध गराएको थियो ।
पिएनसिसीले नेपाल फर्किएका पीडित नेपालीहरुलाई एयरपोर्टबाट पिकअप, काठमाडौंमा नि:शुल्क आवास सुबिधा र आफ्नो घरसम्म पुग्न गाडीभाडा वापतको खर्च अहिलेसम्म पनि उपलब्ध गराउदै आएको पिएनसिसीका रेस्क्यु व्यवस्थापक कमला अमात्यले जानकारी दिनुभएको छ ।
जेलबाट मुक्त गर्न निरन्तर फलोअप
पिएनसिसीका स्वयंसेवकहरुले विभिन्न कारणले गन्तव्य मुलुकहरूमा जेल परेका नेपालीहरुको मुक्तिको लागि निरन्तर फलोअप गरेका थिए । यसका लागि परिवारका सदस्यलाई काठमाडौं बोलाई परराष्ट्र मन्त्रालयमा निवेदन दिन लाउने, मन्त्रालयमार्फत सम्बन्धित मुलुकमा रहेका दूतावासलाई जानकारी गराउने, सम्बन्धित देशहरुमा रहेका स्वयंसेवकहरुले दूतावासलाई नियमित फलोअप गर्ने कामको निरन्तरताका कारण यो ५ महिनाको अवधिमा चार श्रम गन्तव्य मुलुकहरुबाट २९ जना नेपाली जेलमुक्त भएर नेपाल फर्किसकेका छन् ।
यसैगरी सम्बन्धित मुलुकमा रहेका श्रम कार्यालयको सहयोगमा ९ जना नेपालीले पिएनसिसीको प्रत्यक्ष सहयोग पाएका छन् भने नेपाल फर्कने क्रममा सम्बन्धित कम्पनीको आवासबाट एयरपोर्टसम्म यातायात सुबिधा ८३ जनाले पिएनसिसीका स्वयंसेवकहरुबाट पाएका छन् ।
यसैबीच ९६ जना नेपाली श्रमिकहरुको पासपोर्ट नवीकरण गर्न पिएनसिसीका स्वयंसेवकहरुले सहजीकरण गरेका छन् ।
परराष्ट्र सचिवद्वारा सराहना
परराष्ट्र मन्त्रालयमा सहसचिव हरिशचन्द्र घिमिरेको प्रमुख आतिथ्यमा संचालित भर्चुअल बिदाई कार्यक्रममा श्रम तथा रोजगार मन्त्रालयका थानेस्वर भुसालले पिएनसिसीले कोरोना प्रभावित समयमा प्रवासी नेपालीहरुको सहयोगमा निर्वाह गरेको भुमिकाको सराहना गर्नुभएको थियो ।
प्रमुख अतिथि घिमिरेले पिएनसिसीको सहयोग र कार्य अनुभवले नेपाल सरकारको वैदेशिक रोजगारको नीतिनिर्माणमा सघाउ पुग्ने र स्वयंसेवकहरुले मानवीय सेवाको क्षेत्रमा अत्यन्तै उदाहरणीय काम गरेको बताउनुभयो ।
प्रमुख अतिथि धिमिरेले कोरोना महामारीको मध्य दिनहरुमा प्रवासमा रहेका नेपाली दूतावासहरुको सम्पर्कमा रहेर राहत वितरण र घर फिर्तीका लागि सम्बन्धित देशहरुमा रहेका नेपाली समुदाय र पिएनसिसीका स्वयंसेवकहरुले निर्वाह गरेको भुमिकालाई परराष्ट्र मन्त्रालयले उच्च मुल्यांकन गरेको बताउनुभयो ।
कार्यक्रममा सम्बन्धित मुलुकहरुमा रहेका स्वयंसेवक संयोजकहरुले आआफ्नो देशमा नेपालीहरुले भोगेका समस्याहरु र  कामका अनुभवहरु आदानप्रदान गर्नुभएको थियो ।
हरेक देशमा रहेका आठ/आठ स्वयंसेवकहरुका संयोजकहरुमा कतारबाट बिल गुरुङ, साउदी अरबबाट धुर्व रिजाल, मलेसियाबाट ईश्वरकुमार राईले कोरोना प्रभावित दिनहरुमा नेपाली कामदारहरुको समस्या समाधानका सहजीकरण गर्दाका सहजता र असहजताबारे प्रकाश पार्नुभएको थियो ।
नेपाली दूतावास कतारका द्वितीय सचिव प्रवीण भट्टराई, नेपाली दूतावास मलेसियाका जनसम्पर्क अधिकारी टेकबहादुर बुढा, एनआरएनए कतार अध्यक्ष मुकत्दा आलम, राष्ट्रिय परियोजना संयोजक वसन्तकुमार  कार्की लगायतका अतिथिहरुको उपस्थितिमा भएको बिदाइ तथा सम्मान कार्यक्रमको सभापतित्व पिएनसिसी नेपालका अध्यक्ष कुलप्रसाद कार्कीले गर्नुभएको थियो भने कार्यक्रमको सन्चालन पिएनसिसीका निर्देशक सोमप्रसाद लामिछानेले गर्नुभएको थियो । कार्यक्रममा कार्यक्रम संचालक लामिछानेलगायत सबै अतिथिहरु  र सरोकारवाला निकायहरुले चार देशहरुमा कार्यरत ३२ जना स्वयंसेवकहरुको सक्रियताको उच्च मूल्याङ्कन गर्दै कोभिड हिरोको उपमा दिनुभएको थियो  भने पिएनसिसीले सबैलाई प्रशंसापत्र प्रदान गरेको थियो ।
Facebook Comments:

Leave a Reply

Your email address will not be published. Required fields are marked *

− one = one