अब प्रचण्डको सान्दर्भिकता सकियो, प्रेसरको औषधि दिने कि किसुनजीजस्तै आश्रम पठाउने हो : महेश बस्नेत

समाचार

राष्ट्रिय युवा संघ नेपाल धनगढीमाई नगर कमिटीद्वारा बुधबार आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै बस्नेतले सबैले छाड्न थालेपछि प्रचण्डको चिच्याहट सुरु भएको टिप्पणी गरे ।

‘माओवादीका घाइते अपाङ्ग लडाकुहरु अलपत्र परेर सडकमा हिँडिरहेका छन् । अरब गएर भेडा चराइरहेका छन् । अध्यक्ष प्रचण्ड आफ्ना आसेपासे वरीपरी राख्नुहुन्छ । छोरीलाई मेयर, ज्वाइलाई राजदूत चाहिएको छ । सारा कालो सम्पत्ति सुमार्गीमार्फत ब्रिटेन आइल्याण्डमा लगेर पैसा थुपार्नुहुन्छ,’ उनले भने ।

बस्नेतले थपे, ‘आज प्रचण्डलाई पापको भारीले पोलेको छ । अब नेपालको राजनीतिमा प्रचण्डको सान्दर्भिकता सकिएको छ । त्यहीँ भएर उहाँमा बरबराहहट सुरु भएको छ । चिच्याहट सुरु भएको छ । अनि केपी ओली र एमालेविरुद्ध बरबराउन थाल्नुभएको छ ।’

बस्नेतले सान्दर्भिकता सकिएका प्रचण्डलाई अब आश्रममा राख्नुपर्ने बताए । ‘अब प्रचण्डलाई कि प्रेसरको औषधि दिने हो कि कृष्णप्रसाद भट्टराईलाई हाम्रो सरकारले गोदावरीमा आश्रम बनाएर राखेजस्तै अब प्रचण्डलाई हामी एउटा राम्रो आश्रम बनाएर शिवपुरीको डाँडा नजिक राख्ने हो । प्रचण्डलाई देशको जिम्मा दिने होइन । सान्दर्भिकता सकियो,’ उनले भने ।

एमालेलाई प्रचण्डले विभाजन गर्न कुनै कसर नछोडेको उनको आरोप छ ।

मधेसका समस्या समाधान गर्ने एमाले हो भन्ने पुष्टि भएको बस्नेतले दाबी गरे । ‘सुकुम्बासी आयोग बनाउने एमाले हो । कांग्रेस माओवादी मधेसवादी मिलेर आयोग भंग गरे । भूमिहीनलाई लात हाने,’ उनले भने ।

भ्रष्टाचारी र अपराधीले तस्करी गरेको कालोधनलाई सरकारले वैध बनाउन खोजेको उनको आरोप छ । ‘यो देशलाई भूमाफियाको स्वर्ग बनाउँदैछन्,’ उनले भने ।

उनले कांग्रेस झुटो आश्वासन बाँड्ने पार्टी भएको बताए । ‘आश्वासन दिने पार्टी हो कांग्रेस । बहाना बनाएर फेरि आउँछन् । अब स्थानीय, प्रदेश, संघ चुनाव हुँदैछ । झाकी ओढेर, सिंगार पटार गरेर आउनेछन् । तपाई झुक्किनु हुनेछैन । विकास र समृद्धिका लागि एमाले नै हो,’ उनले भने ।

आश्वासन दिने र बहाना बनाउने कांग्रेसको राजनीति मधेसबाट सदा सदाका लागि समाप्त गर्न आवश्यक रहेको उनको भनाइ थियो ।

Facebook Comments:

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seven × = thirty five